१३ जेठ, काठमाडौ ।
प्रधानमन्त्री के पी शर्मा ओलीले अद्यावधिक नक्शा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमति जुटाउन आज सर्वदलीय बैठक डाकेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक रहे पनि कन्द्रीय समिति बैठकमा थप छलफल पछि निर्णय गर्ने बताएको छ । बैठकमा सीमा विवाद समाधानका लागि कुटनीतिक वार्ताका लागि पहल गर्न काँग्रेसले सुझाव दिएको थियो । विपक्षी दलहरुले मधेस केन्द्रीत दलहरुको माग अनुसारका विषयहरु पनि संविधान संशोधनमा समावेश गर्नु पर्ने सुझाव दिएका थिए ।
भूमी फिर्ता सम्बन्धमा सरकारको साथमा रहेको बताउँदै मधेस केन्द्रीत दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले उनीहरु पुराना एजेण्डाहरु संलग्न गरी प्याकेजमै संविधान संशोधन गर्नु पर्ने शर्त अघि सारेका थिए । प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको संशोधनको विषय राष्ट्रियतासँग जोडिएकोले अहिले अन्य मुद्दाहरु नजोड्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका थिए ।
गत जेठ ५ गतेको मन्त्रीपरिषद्को बैठकको निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरा, कुटी, गुञ्जी, कालापानी र लिपुलेक लगायतका भूभाग समावेश गरी जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गरी सकेको छ ।














