बैशाख २५, काठमाडौ ।
स्थायी समितिको बैठक अनिश्चित भएपछि बैठक माग गर्ने २० जना नेकपा स्थायी समिति सदस्यहरु रणनीति तय गर्न विहिवार पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन । स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न सचिवालयलाई सहयोग गर्न र बैठक बोलाउन दबाब दिन भेला भएको जनाइएको छ ।
बिहिवार बस्ने भनिएको स्थायी समिति बैठक अगाडी एजेण्डा तय गर्न बुधवार बसेको सचिवालय बैठकमा गृहकार्य पुरा नभएको र प्रधानमन्त्री ओलीले बैठक बीचमै छाडेकाले स्थायी समिति बैठक अनिश्चित समयका लागि सरेको हो । नेकपा अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य पुरा नभएकोले स्थायी समिति बैठक सरेको बताएका छन् । दुवै अध्यक्षको सहमति पछि बैठकको नयाँ मिति तय हुने जनाइएको छ ।
पार्टीको विधान र पद्धति प्रतिकूल हुने गरी क्रियाकलाप भएको आरोप लगाउँदै २० जना सदस्यहरुले दुवै अध्यक्षलाई बैशाख १० गते पत्र लेखी स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । विवादास्पद अध्यादेश र सरकारले अपेक्षा अनुसार काम नगरेको, भ्रष्ट्राचारमा लिप्त मन्त्रीवारे प्रधानमन्त्रीले छानविन अगाडी नबढाएको वारे छलफल गर्न ती सदस्यहरुले बैठक माग गरेका थिए । सासंद अपहरण जस्तो मुद्दालाई गम्भिरताका साथ नलिएको र कारोना संक्रमण विरुद्ध समेत प्रभावकारी ढङ्गले सरकारले काम गर्न नसकेको आरोप लगाउँदै बैठक माग गरिएको थियो ।
गोकर्ण विष्ट, चक्रपाणी खनाल, रघुजी पन्त, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, लिलामणी पोख्रेल, पम्फा भुषाल, वेदुराम भुसाल, देव प्रसाद गुरुङ, देवेन्द्र पौडेल, भिम रावल र मणीचन्द्र थापा लगायतले बैठक बोलाउन पत्र लेखेका थिए । नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका बैठक माग गर्ने अन्य सदस्यहरु जनार्दन शर्मा, मातृका यादव, टोप बहादुर रायमाझी, भीम प्रसाद आचार्य, मुकुन्द न्यौपाने, सुरेन्द्र प्रसाद पाण्डे, गणेश साह र हरिबोल गजुरेल रहेका छन् ।









